धनगढीः आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीमा चार हजार ९८ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, आजदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु भएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालतर्फ गरी कुल चार हजार ९८ जना निर्वाचन प्रहरी भर्ना गरिने उनले बताए। भर्ना प्रक्रिया पूरा भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट कति–कति निर्वाचन प्रहरी खटाउने भन्ने टुंगो लाग्ने जनाइएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि-२०८२ अनुसार,भर्ना गर्नुपर्ने भएकाले शुक्रवारदेखि पाँच दिनसम्म आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रनाउ सिंहले जानकारी दिए।
उनका अनुसार,यही पुस २५ शुक्रबारदेखि आगामी माघ १ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले जिल्ला प्रहरी कार्यालय कैलालीमा आवेदन दिन सक्नेछन्।
कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन् भने पाँच लाख ५१ हजार ५२ जना मतदाता छन्। जिल्लामा २३७ मतदानस्थल र ६४१ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ।





