दार्चुला : आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका-१ छाङरु र टिंकर गाउँका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्नुपर्ने भएको छ। गत मंसिरमा दुवै गाउँका बासिन्दा अस्थायी रूपमा बसाइँ सरेर खलङ्गा आएका कारण यसपटक मतदान पनि खलङ्गामै गराइने भएको हो।
२०७९ को स्थानीय तह निर्वाचन छाङरु र टिंकरकै मतदान केन्द्रबाट सम्पन्न भएको थियो। तर यसपटक स्थानीय बसाइँ सरेको कारण दुवै गाउँका मतदान केन्द्र खलंगामै कायम गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। व्यास-१ छाङरु र टिंकरमा दुई वटा मतदान केन्द्र रहेका थिए।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार, छाङरुका लागि कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र टिंकरका लागि मोतिमहिला संघ आधारभूत विद्यालयमा २४४ जना मतदाता रहेका छन्।
२०७९ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा छाङरु मतदान केन्द्रमा ३८३ र टिंकर मतदान केन्द्रमा २३४ जना मतदाता थिए।
यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुला जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन्। जिल्ला सुरक्षा समिति दार्चुलाका अनुसार तीमध्ये २२ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ।





