उपत्यकाको निषेधाज्ञा आजदेखि झन् कडा – किराना पसल खोल्न पनि रोक

-- / प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४, २०७८

काठमाडौं – कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको थियो ।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको मङ्गलबारको बैठकले आजदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । यसपालि भने किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ । बिहान–बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक)मा समेत रोक लगाइएको छ ।