धनगढीमा राष्ट्रियसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Picture of API Online Khabar

API Online Khabar

धनगढी: आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका दुई सिटका लागि हुने निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको संयुक्त रूपमा कैलाली जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत भुवन सिंह थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले उद्घाटन गरेका हुन्। कार्यालय उद्घाटनसँगै राष्ट्रियसभा निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि औपचारिक रूपमा अघि बढ्ने जनाइएको छ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार, कार्यालय स्थापना भएसँगै निर्वाचन कार्यतालिका कार्यान्वयन, राजनीतिक दलहरूबीच समन्वय, उम्मेदवारको मनोनयन, मतदाता नामावली व्यवस्थापन लगायतका प्रक्रिया तीव्र पारिनेछ। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी भइरहेको बताए।

निर्वाचन कार्यतालिकाअनुसार पुस १९ गते राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिनेछ, भने पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। त्यसपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, दाबी-विरोध तथा अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया अघि बढ्नेछन्।

सुदूरपश्चिम प्रदेशमा हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता सहभागी हुनेछन्। निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।

निर्वाचन आयोगले तोकेको मापदण्ड अनुसार सबै तयारी पूरा गरी समयमै निर्वाचन सम्पन्न गर्ने लक्ष्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार