धनगढीः सरकारले ‘निर्वाचन प्रहरी’ भर्नाका लागि आवेदन खुला गरेसँगै सुदूरपश्चिम प्रदेशभर आवेदन दिनेको चाप बढेको छ। प्रदेशका नौवटै जिल्लामा निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेको उल्लेखनीय भीड लागेको जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, सबैभन्दा धेरै आवेदन कैलाली र कञ्चनपुर जिल्लामा परेका छन्। निर्वाचन प्रहरी भर्नाका लागि आगामी माघ १ गतेसम्म निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। सोअनुसार सुदूरपश्चिमका सबै जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका गण र गुल्ममार्फत आवेदन संकलन भइरहेको छ।
निर्वाचन प्रहरी भर्नामा भूतपूर्व सुरक्षाकर्मी, युवा तथा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको प्रहरी उपरीक्षक मिश्रले बताए।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रदेशभर १५ हजार १८८ जना निर्वाचन प्रहरी भर्ना गरिँदैछ। तीमध्ये सबैभन्दा धेरै निर्वाचन प्रहरी कैलालीमा परिचालन हुनेछन् भने सबैभन्दा कम दार्चुलामा रहनेछन्।
जिल्लागत रूपमा कैलालीमा ४ हजार ९८, दार्चुलामा ९३०, कञ्चनपुरमा २ हजार ३२७, अछाममा १ हजार ६४२, बझाङमा १ हजार ५८०, बैतडीमा १ हजार ३७५, डोटीमा १ हजार १३६, बाजुरामा १ हजार ६० र डडेल्धुरामा १ हजार ४० जना निर्वाचन प्रहरीको माग रहेको छ।
नेपाल प्रहरी–सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचनका लागि प्रदेशभर १ हजार १७६ मतदानस्थल कायम गरिएको छ।





