सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति एक र रजिष्ट्रार तीन जनाको नाम सिफारिस

Picture of API Online Khabar

API Online Khabar

धनगढीः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि नाम सिफारिस गरिएको छ। उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समितिले उपकुलपतिका लागि एक जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सिफारिस गरेको हो।

समितिका संयोजक जयराज अवस्थीका अनुसार, सिफारिस गरिएका नाम सहकुलपति तथा शिक्षामन्त्री महावीर पुनसमक्ष पेस गरिएको छ। उनका अनुसार उपकुलपति पदका लागि दुई जनाको आवेदन परेको थियो। तीमध्ये एक जनाको आवेदन प्रक्रिया अपूरो रहेकाले अस्वीकृत गरिएको र प्रक्रिया पूरा गरेका एक जनाको मात्र नाम सिफारिस गरिएको हो।

रजिष्ट्रार पदका लागि भने कुल १० जनाले आवेदन दिएका थिए। तीमध्ये सात जनालाई सर्टलिस्ट गरी अन्तर्वार्तामा सहभागी गराइएको थियो। अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस गरिएको समितिले जनाएको छ। सिफारिस सूचीबाट विश्वविद्यालय ऐनअनुसार, सभा बैठक बसेर एक जनालाई रजिष्ट्रारमा नियुक्त गरिनेछ। हाल सिफारिसमा परेकाहरूको नाम सार्वजनिक गरिएको छैन।

उपकुलपतिका लागि पर्याप्त आवेदन नपरेपछि समितिले तीन पटकसम्म सूचना जारी  गरेको थियो। पहिलो पटक कात्तिक १६ गते र दोस्रो पटक कात्तिक ३० गते आवेदन आह्वान गर्दा कुनै पनि दरखास्त नपरेपछि मंसिर २३ गते पुनः सूचना जारी गर्दै मंसिर २८ गतेसम्मका लागि समय थप गरिएको थियो। यसबीच शिक्षामन्त्री पुनले समेत सामाजिक सञ्जालमार्फत इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेका थिए।

रजिष्ट्रारतर्फ सर्टलिस्टमा पर्नेमा कञ्चनपुरका खेमराज जोशी र डमरुप्रसाद पनेरु, बैतडीका गोविन्दसिंह विष्ट र भीमबहादुर चन्द, बझाङका डबलबहादुर धामी तथा कैलालीका पदमराज जोशी र शिवप्रसाद सापकोटा रहेका थिए। तीमध्ये तीन जनाको नाम अन्तिम सिफारिसमा परेको समितिले जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार