काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता प्रक्रिया भाँडिएको छ। रास्वपा सभापति रवि लामिछानेले यस विषयमा पार्टीको आकस्मिक सचिवालय बैठकमा ब्रिफिङ गरेका छन्।
भर्चुअल माध्यमबाट बसेको बैठकको सुरुमै सभापति लामिछानेले उज्यालो नेपाल पार्टी (कुलमान घिसिङ पक्ष) ले पछिल्लो समयमा अघि सारेका नयाँ मागहरूको जानकारी गराएका थिए।
बैठक स्रोतका अनुसार, सचिवालयले उज्यालो नेपाल पार्टीसँग यसअघि भएको एकता सम्बन्धी सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। सो निर्णयमा वरिष्ठ नेता बालेन शाह पनि सहमत रहेको स्रोतले जनाएको छ।
‘हरेक दिन नयाँ नयाँ प्रस्ताव लिएर आउने हुन थाल्यो । नयाँ नयाँ भाग मागेको माग्यै गरेपछि हामी अब अघि बढ्न नसक्ने भयौं,’ रविले बैठकमा भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
रास्वपासँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठकपछि कुलमान घिसिङसहितका नेताहरूले पत्रकार सम्मेलन गर्ने तयारी गरेको बताइएको छ। उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्षको भूमिकामा चयन गरिसकेको छ।
यसअघि भएको सहमतिअनुसार कुलमान घिसिङ रास्वपामा उपसभापति हुने तय थियो। तर पदाधिकारी तथा केन्द्रीय सदस्यको बाँडफाँटमा दुवै पक्षबीच सहमति जुट्न सकेको थिएन।
समानुपातिक उम्मेदवार पूर्व सहमति अनुसार लागू नभएको उज्यालो नेपालको गुनासो छ । पछिल्लो समयमा शक्ति वाँडफाँडको क्रममा संवाद हुँदा कुलमान पूर्ववत सहमतिबाट पछि हटेको रास्वपाको दाबी छ।





