राष्ट्रिय सभा सदस्यकी एमाले महिला उम्मेदवार भण्डारीविरुद्ध उजुरी,अयोग्य ठहरको माग

Picture of API Online Khabar

API Online Khabar

धनगढीः राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कांग्रेस-एमाले गठबन्धनकी साझा  महिला उम्मेदवार  एमाले नेत्री लिलाकुमारी भण्डारीविरुद्ध उजुरी दर्ता भएको छ। नेपाली कम्युनिस्ट पार्टीकी महिला उम्मेदवार रोजी बस्नेतले बिहीवार निर्वाचन आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरी दर्ता गराएकी हुन्।

निर्वाचन आयोगको प्रदेश कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार, बस्नेतले लिलाकुमारी भण्डारीको नाम प्रतिनिधि सभाको समानुपातिक बन्द सूचीमा कायम रहेको दाबी गर्दै उजुरी दिएकी हुन्। उनका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (९) अनुसार समानुपातिक बन्द सूचीमा नाम रहेको व्यक्ति सोही निर्वाचन अवधिभर अन्य कुनै निर्वाचित पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ।

बस्नेतले उक्त कानुनी व्यवस्थाविपरीत भण्डारीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाइएको दाबी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६ अनुसार भण्डारी संघीय कानुनअनुसार अयोग्य ठहरिनुपर्ने जिकिर गरेकी छन्।

उजुरीमा राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार चयन प्रक्रिया नै कानुनविपरीत रहेको उल्लेख गर्दै आवश्यक छानबिन गरी उम्मेदवारी खारेज गर्न माग गरिएको छ।

निर्वाचन आयोगले उजुरी दर्ता भइसकेको जनाउँदै सम्बन्धित पक्षलाई जानकारी गराइएको र प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ। आयोगले उजुरी खण्डन हुने सबुत प्रमाणसहित शुक्रवार दिउँसो २ बजे निर्वाचन कार्यालयमा उपस्थित हुन भण्डारीलाई आग्रह गरेको छ।

भण्डारी कांग्रेस-एमाले गठबन्धनकी साझा उम्मेदवार हुन्, भने बस्नेत नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार हुन्।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार