धनगढी: सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै अग्रसर हुनुपर्ने बताएका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८२ को शुभकामना दिँदै उनले यस दिवसले राष्ट्रिय एकताको अटुट सूत्रमा बाँध्न, आपसी सहिष्णुता कायम राख्न तथा देशको सार्वभौमिकता र अखण्डतालाई अक्षुण्ण राख्न थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘अनेकौँ ससाना राज्यहरूमा विभक्त भूगोललाई एकीकृत गरी एउटा सबल र आधुनिक राष्ट्र निर्माण गर्ने महान् सङ्कल्पका साथ पृथ्वीनारायण शाहले शुरु गरेकोर्नुभएको अभियान ऐतिहासिक रूपमा अतुलनीय छ,’ प्रदेश प्रमुख मियाँको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाललाई साझा फूलबारी का रूपमा परिचित गराउँदै विविध जातजाति, भाषाभाषी र समुदायबीच भावनात्मक एकताको जग बसाल्ने कार्य नै आजको हाम्रो राष्ट्रिय पहिचानको आधार हो ।’
इतिहासका विभिन्न कालखण्डमा सोही अभियानलाई निरन्तरता दिइएकै कारण विश्वमा एक सार्वभौम र स्वतन्त्र नेपालीका रूपमा शिर उच्च राख्न सफल भएको उनको भनाइ छ ।
‘यस विशेष दिवसले हामी सबैलाई राष्ट्रिय एकताको अटुट सूत्रमा बाँध्न, आपसी सहिष्णुता कायम राख्न र देशको सार्वभौमिकता तथा अखण्डतालाई अक्षुण्ण राख्न थप ऊर्जा र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास मैले लिएको छु । राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँदै मुलुकको चौतर्फी हितमा अग्रसर हुनु नै आज हामी सबैको प्रमुख आवश्यकता हो,’ प्रदेश प्रमुख मियाँले भनेका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले समस्त नेपालीहरूबीच आपसी सद्भाव, विश्वास, प्रेम र एकताको भावनालाई थप प्रगाढ बनाउँदै मुलुकको सर्वाङ्गीण प्रगति र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन् ।





