धनगढी उपमहानगरपालिकाले यो वर्ष ६ सय युवालाई सिप तथा रोजगार तालिम दिने

Picture of API Online Khabar

API Online Khabar

धनगढीः धनगढी उपमहानगरपालिकाले यो वर्ष ६ सय युवालाई सिप तथा रोजगार तालिम दिने भएको छ। माघ ५ गतेदेखि सञ्चालन हुने सिप तथा रोजगार मेलामार्फत विभिन्न २२ विधामा एक महिनासम्म सिपमूलक तालिम र थप १० दिन परामर्शसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

उपमहानगरपालिकाले गत वर्षदेखि सिप तथा रोजगार मेला आयोजना गर्न थालेको हो। गत वर्ष झन्डै ११ सय जना युवाले २९ विधामा एक महिनासम्म तालिम लिएका थिए। तालिमपश्चात् उनीहरूको सिप परीक्षण गरी रोजगारदाताको उपस्थितिमा परामर्श कार्यशाला समेत आयोजना गरिएको थियो।

उपमहानगरपालिकाका अनुसार, गत वर्ष प्रदेशका ९ वटै जिल्लाका ३९ स्थानीय तहबाट एक हजार ४० जनालाई विभिन्न विधामा तालिम दिइएको थियो। त्यसक्रममा ३० दिन विभिन्न विधामा सिपमूलक तालिम, पाँच दिन जीवनोपयोगी तथा उद्यमशीलता विकाससम्बन्धी तालिम र दुई दिन रोजगारदाता तथा तालिमप्राप्त युवाबीच अन्तर्क्रिया गरिएको थियो।

यो वर्ष पनि धनगढी उपमहानगरपालिकाको आयोजनामा आगामी माघ ५ गतेदेखि ३० दिन सिप विकास तालिम र बाँकी १० दिन परामर्श कार्यशाला तथा रोजगार मेला सञ्चालन हुने सिप तथा रोजगार मेलाका संयोजक योगेन्द्र चन्दले बताए।

उनका अनुसार, मंसिर १५ गतेदेखि आवेदन संकलन सुरु गरिएकोमा करिब चार हजार जनाको आवेदन परेको छ। आवेदन दिएका मध्ये कार्यविधिअनुसार छनोट गरी ६ सय जनालाई मात्रै तालिम दिन सकिने उनले जानकारी दिए।

सिप तथा रोजगार मेलामा अटोमोबाइल मर्मत, डिजिटल मार्केटिङ, फोटोग्राफी तथा ड्रोन सञ्चालन, हस्पिटालिटीअन्तर्गत वेटररवेट्रेस, बेकरी, कफी बारिस्टा, फास्टफुड कुक, शैक्षिक सेवाअन्तर्गत पुरोहित, लेखा व्यवस्थापन, इसिडी सहजकर्ता, एडभान्स ब्युटिसियन, हेयर कटिङ, आर्ट एन्ड क्राफ्ट डिजाइनिङअन्तर्गत बेतबाँस हस्तकला, सांस्कृतिक पोशाक, बुटिक तथा कढाइ, निर्माण सेवाअन्तर्गत प्लम्बिङ, फर्निचर, बिल्डिङ वायरिङ, वेल्डिङ तथा मेकानिकलअन्तर्गत एसी(फ्रिज मर्मत, मोबाइल र सिसिटिभी मर्मत गरी सात क्षेत्रका २२ विषयमा तालिम सञ्चालन हुने संयोजक चन्दले बताए। उनले सांस्कृतिक पोशाक निर्माणतर्फ ७५ जनालाई तालिम दिइने जानकारी दिए।

तालिममा सहभागी हुन इच्छुक युवाले अनलाइन र हार्डकपीमार्फत आवेदन दिएका थिए। आवेदकमध्ये कार्यविधिअनुसार छनोट गरी तालिममा सहभागी गराइने उपमहानगरपालिकाले जनाएको छ।

गत आर्थिक वर्षमा सञ्चालन गरिएको सिप तथा रोजगार मेलाबाट तालिम लिएका मध्ये ४७ प्रतिशतले रोजगारी पाएका छन्। उपमहानगरपालिकाको तथ्याङ्कअनुसार २ सय २६ जना विभिन्न संस्था तथा निकायमा रोजगारीमा संलग्न भएका छन्, भने १७२ जना स्वरोजगारमा लागेका छन्।

त्यस्तै, २७ जनालाई थप तालिम तथा सिप विकासका लागि काठमाडौँ र बुटवल पठाइएको थियो। यस वर्षको सिप तथा रोजगार मेला धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित खुला मञ्चमा माघ ५ गतेदेखि आयोजना हुने जनाइएको छ।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार