बैतडी: २०७७ सालमा एकैपटक शिलान्यास गरिएका राष्ट्रिय महत्त्वका आधारभूत अस्पतालमध्ये अधिकांशको प्रगति सन्तोषजनक नरहेका बेला बैतडीको दोगडाकेदार गाउँपालिकामा भने १० शय्याको आधारभूत अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ।
दोगडाकेदार गाउँपालिका-६ सित्तडमा निर्माण भएको अस्पतालको तीनतले आधुनिक भवन साढे ८ करोड रुपैयाँ लागतमा सम्पन्न गरिएको गाउँपालिकाको योजना शाखा प्रमुख एवं इन्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए।
उनका अनुसार,२०८० असार १६ गते इन्द्र धनु उग्रतारा निर्माण जेभीले योजनाको जिम्मा पाएकोमा २०८२ मा निर्माण कार्य सम्पन्न भएको हो। भवनमा सीसीटीभी क्यामेरा जडानसँगै एसी पनि जडान गरिएको छ ।
भवन निर्माण सम्पन्न भएसँगै अस्पताल सञ्चालनका लागि कर्मचारी दरबन्दी कार्यान्वयन र अत्याधुनिक स्वास्थ्य उपकरणको माग गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। ‘भवन निर्माणको काम सम्पन्न भइसकेको छ। निर्माण कम्पनीले चाँडै हस्तान्तरण गर्ने तयारी गरेको छ,’ उनले भने, ‘प्रदेश वा संघ सरकारले दरबन्दी स्वीकृत गरी सहयोग गरेमा अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउन सकिन्छ। यसका लागि हामीले निरन्तर पहल गरिरहेका छौं।’
अस्पतालको सञ्चालन र सुविधाका लागि डिजिटल एक्स-रे मेसिन ९५०० एमए, यूएसजी÷उपकरण (कलर डोप्टर), सीबीसी मेसिन, एनालाइजर र माइक्रोस्कोप (सी एक्स ३३ कोलम्पस) जस्ता अत्यावश्यक उपकरणहरूको सूची तयार गरेर स्वास्थ्यसेवा विभागलाई पत्राचार गरिएको छ । २०७७ मंसिरमा शिलान्यास गरिएको आधारभूत अस्पतालको काम २०७८ असारदेखि निर्माणको काम थालिएको थियो ।
१० शय्यामा २ जना मेडिकल अधिकृतसहित २२ जना जनशक्ति रहने संरचना पनि तयार भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा स्थानीय तहमा ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो जसमा भूगोल र जनसंख्याका आधारमा आधारभूत अस्पताल निर्माण गर्ने भनिएको थियो ।
२०७७ साउन २८ गते ३९६ र पुस १२ गते २५९ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो ।





