धनगढी : अमेरिकाकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएला प्रकरणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमप्रति कडा असहमति जनाएकी छन्। सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले ट्रम्पको कदमले अमेरिका सुरक्षित, बलियो वा किफायती नबनाउने बताएकी छन्।
‘भेनेजुएलामा डोनाल्ड ट्रम्पको कार्यले अमेरिकालाई सुरक्षित, बलियो वा किफायती बनाउँदैन,’ ह्यारिसले लेखेकी छन्, ‘मदुरो एक क्रूर र अवैध तानाशाह हुन् भन्ने तथ्यले पनि यो कदम गैरकानुनी र मूर्खतापूर्ण थियो भन्ने सत्य बदलिँदैन।’
उनले शासन परिवर्तनका नाममा गरिएका युद्धहरू अन्ततः अराजकतामा परिणत हुने र त्यसको मूल्य अमेरिकी परिवारहरूले चुकाउनुपर्ने इतिहास दोहोरिन लागेको उल्लेख गरेकी छन्। ‘हामीले यो चलचित्र पहिले पनि हेरिसकेका छौँ,’ उनले लेखेकी छन्, ‘तेल वा शक्ति हासिल गर्ने नाममा बेचिएका युद्धहरू अन्ततः असफल हुन्छन्। अमेरिकी जनता यस्तो चाहँदैनन्, उनीहरू झूटबाट थाकेका छन्।’
ह्यारिसका अनुसार यो प्रकरण लागूऔषध नियन्त्रण वा लोकतन्त्रभन्दा पनि तेल र क्षेत्रीय प्रभुत्वप्रति ट्रम्पको चाहनासँग जोडिएको छ। यदि ती विषयमा साँच्चिकै चासो भएको भए मदुरोका सहयोगीसँग सम्झौता गर्दै दोषी ठहर भइसकेका लागूऔषध तस्करलाई माफी दिने वा भेनेजुएलाको वैध विपक्षीलाई किनारा लगाउने अवस्था नआउने उनको भनाइ छ।
‘राष्ट्रपतिले सेनालाई जोखिममा पार्दै, अर्बौँ डलर खर्च गर्दै, क्षेत्रलाई अस्थिर बनाउँदै कुनै कानुनी आधार, कुनै निकास योजना र देशभित्र कुनै ठोस फाइदा नहुने कदम चालिरहेका छन्,’ ह्यारिसले टिप्पणी गरेकी छन्।
अन्त्यमा उनले अमेरिकी नेतृत्वप्रति अपेक्षा व्यक्त गर्दै लेखेकी छन्, ‘अमेरिकालाई त्यस्तो नेतृत्व चाहिन्छ जसले कानुनको शासन लागू गरोस्, गठबन्धन सुदृढ पारोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा अमेरिकी जनतालाई प्राथमिकता देओस्।’




