डडेलधुरा अस्पतालका सबै सेवा पुनः सञ्चालन

Picture of API Online Khabar

API Online Khabar

डडेलधुरा: बिहीबार दिउँसोदेखि डडेलधुरा अस्पतालका सम्पूर्ण सेवाहरू पुनः सञ्चालनमा आएका छन्। बुधबार अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि  दुव्र्यवहार भएपछि बन्द रहेका आकस्मिक सेवा बाहेकका बन्द भएका सबै सेवा  बिहीबार सरोकारवाला निकायबीच भएको छलफल पछि पुनः सञ्चालनमा आएका हुन ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला, अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझा, डडेलधुरा अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। सुधा देवकोटा लगायतको उपस्थिति रहेको थियो।

बैठकले अध्यक्षमाथि दुव्र्यवहार गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन शंकास्पद गतिविधिबारे तत्काल स्थानीय प्रशासनलाई जानकारी गराउने निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष ओझाले जानकारी दिए।

अध्यक्ष ओझाले भने, “डडेलधुरा अस्पताल सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकहरूको उपचारको मुख्य आधार हो। हामी सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र गुणस्तरीय बनाउन निरन्तर लागिपरेका छौँ। तर प्रमाणबिनाका आरोप र राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा स्वास्थ्य संस्थामा आक्रमण र दुर्व्यवहार गर्नु दुर्भाग्यपूर्ण हो।”

उनले सामाजिक सञ्जाल र मिडियामा तथ्यबिनै आरोप लगाउने प्रवृत्तिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको मनोबल कमजोर भएको उल्लेख गर्दै भने, “यस्ता गतिविधिले कर्मचारीलाई हतोत्साहित बनाउँछ, जसको प्रत्यक्ष असर सेवाग्राहीमाथि पर्छ।”

अध्यक्ष ओझाले आर्थिक लेनदेन, खरिद, निर्माण कार्य र कोष सञ्चालन नेपाल सरकारको कानुन र अधिकारप्राप्त निकायमार्फत हुने भएकाले यसबारे गलत बुझाइ फैलाउनु उचित नभएको पनि बताए। बिहीबार एक विज्ञप्ति जारी गर्दै आफुमाथि भएको दुर्व्यवहारप्रति उनले खेद प्रकट गरेका छन्।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार