कञ्चनपुरमा बैँकले लिलाम गरेको घर विप्लव माओवादीको कब्जामा

Picture of API Online Khabar

API Online Khabar

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० स्थित अजय विकको घर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको छ। एनएमबी बैंकले लिलाम गरेको उक्त घरमा पार्टीले आफ्नो झन्डा गाड्दै कार्यालयसमेत सञ्चालनमा ल्याएको छ।

झलारी बजारमा पाँच धुर क्षेत्रफलमा फैलिएको साढे तीनतले घर बैंकले लिलाम गरेको थियो। बैंकले पीडित परिवारलाई जानकारी नदिई घर लिलाम गरी मानसिक यातना दिएको आरोप लगाउँदै पार्टीले घर नियन्त्रणमा लिएको जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका न्याय विभाग प्रमुख रमन सीका अनुसार, बैँकले विक परिवारलाई जानकारी नदिई घर लिलाम गरेको र परिवारलाई मानसिक पीडा दिएको भन्दै पार्टीले घर कब्जामा लिएको हो। पार्टीका केन्द्रिय सदस्य ललितजङ्ग सीले भने, “धितो लिलाम गर्दा बैँक र दलाल मिलेर विक परिवारलाई समस्यामा पारेको कारण घर कब्जा गरिएको हो।”

एनएमबी बैंकले विकले २०७५ सालमा लिएको ऋणको ब्याज समयमा नतिरेको भन्दै २०८० चैतमा करिब दुई करोड मूल्य बराबरको घर लिलाम गरेको जनाएको छ। तर उक्त लिलामी प्रक्रियामा जालसाजी भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गरिएको छ। उजुरीमा लिलामी घर खरिदकर्ता धिरेन्द्र साउँद र उनकी पत्नी तुलसीकुमारी डाँगा तथा वडा नं: १० की वडासचिव जुनाकुमारी शेरासमेत प्रतिवादी बनाइएका छन्।

पीडित विकका अनुसार, १५ वर्षे ‘होम लोन’ अन्तर्गत २९ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए। लिलामीको सूचना पाएपछि ३ लाख रुपैयाँ नगद र १ लाखको चेक बुझाउन जाँदा बैंकले रकम नलिएको उनको भनाइ छ।

यस विषयमा एनएमबी बैंक झलारी शाखाका कर्मचारीले सबै कागजात केन्द्रीय कार्यालयमा पठाइसकिएकाले शाखालाई थप जानकारी नभएको प्रतिक्रिया दिएका छन्। यता, घटनाको विरोधमा स्थानीय जेनजी युवा सङ्घर्ष समितिले बैंकको झलारी शाखामा तालाबन्दी गरेको छ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार