इरानमा आन्दोलन दबाउन सेनाद्वारा गोली प्रहार, २१७ को मृत्यु !

Picture of API Online Khabar

API Online Khabar

काठमाडौं : इरानमा सरकारविरुद्ध जारी विरोध प्रदर्शन शनिबार १३औँ दिनमा प्रवेश गरेको छ । जर्जर अर्थतन्त्र र बढ्दो महँगीबीच जनता सडकमा उत्रिएका छन् । खमेनी प्रशासनविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

यसैबीच, देशमा जारी सरकारविरोधी आन्दोलनलाई लिएर एउटा स्तब्ध पार्ने दाबी सार्वजनिक भएको छ । एक इरानी डाक्टरले राजधानी तेहरानमा मात्रै २१७ जनाको मृत्यु भएको बताएका छन् ।

इरानबाट प्राप्त रिपोर्टहरूका अनुसार विरोध प्रदर्शन अहिले देशका सबै ३१ वटै प्रान्तमा फैलिसकेको छ । टाइम म्यागजिनको एक रिपोर्टमा तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै, नाम नछाप्ने सर्तमा राजधानीका मात्र ६ वटा अस्पतालहरूमा कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता गरिएको भनिएको छ । तीमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको छ ।

इरानी अधिकारीहरूको डरका कारण ती डाक्टरले आफ्नो पहिचान गोप्य राख्दै यो ठूलो जानकारी सार्वजनिक गरेका हुन् । यद्यपि, टाइम म्यागजिनले यी तथ्यांकहरूको स्वतन्त्र रूपमा पुष्टि भने गरेको छैन । यदि, मृत्युको यो तथ्यांक सही हो भने इरानी सरकारले आन्दोलन दबाउन अपनाएको भयावह स्वरूप छर्लङग हुन्छ ।

यता, देशमा इन्टरनेट र फोन सेवा लगभग पूर्णरूपमा बन्द गरिएको छ । इन्टरनेट स्वतन्त्रतामाथि निगरानी राख्ने संस्था ‘नेटब्लक्स’ले शासनद्वारा लागु गरिएको इन्टरनेट प्रतिबन्धको दस्ताबेजीकरण गरेको छ ।

संस्थाका अनुसार राष्ट्रव्यापी इन्टरनेट बन्द गरिएको अहिले २४ घण्टा भइसकेको छ । कनेक्टिभिटी सामान्यस्तरको मात्र एक प्रतिशतमा सीमित छ ।

यो ‘डिजिटल ब्ल्याकआउट’ले इरानीहरूको मौलिक अधिकार र स्वतन्त्रताको उल्लंघन गर्ने मात्र नभई शासन र शासकको हिंसालाई लुकाउने प्रयास पनि गरेको बताइएको छ ।

विरोध प्रदर्शनबीच के भने खमेनीले रु
यसअघि शुक्रबार देशमा व्याप्त अशान्तिका बीच सर्वोच्च नेता खमेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाको समस्यामा ध्यान केन्द्रित गर्न सल्लाह दिएका थिए ।

देशका नाममा सम्बोधन गर्दै खमेनीले प्रदर्शनकारीहरू अर्को देशका राष्ट्रपतिलाई खुसी पार्न आफ्नो देश बर्बाद गरिरहेको आरोप लगाए । खमेनीले देशले विदेशीका भाडाका सैनिकहरूलाई नसहने बताएका छन् । यससँगै उनले प्रदर्शनकारीहरूविरुद्ध कडा कारबाही गर्ने संकेत पनि दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार