आशिका तामाङले गरिन् आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

Picture of API Online Khabar

API Online Khabar

काठमाडौं: सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै तामाङले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

आफूले पछिल्लो केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्नेबारे गम्भीर छलफल र आत्ममन्थन गरेको उल्लेख गर्दै तामाङले दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषण गर्दछु ।’

जेनजी पुस्ताका युवाले उठाएका आवाज, मुद्दा र परिवर्तनको चाहनालाई सडकदेखि सदनमा सशक्त रुपमा प्रतिनिधित्व हुनुपर्छ, भन्ने भावनालाई सम्मान गर्दै स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको उनको भनाइ छ ।

‘यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित छ । म विश्वास दिलाउन चाहन्छु कि युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु,’ उनले भनिन् ।

युवा पुस्ताको भावनाको कदर, सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा, भ्रष्टाचारविरुद्धको निरन्तर लडाइँ आफ्नो अठोट भएको उनको भनाइ छ ।

चलचित्र क्षेत्रबाट उदाएकी तामाङ पछिल्लो केही वर्षदेखि सामाजिक कार्यमा सक्रिय छिन् । फाउण्डेशन नै खोलेर सामाजिक गतिविधिमा लागेकी तामाङले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीद र घाइतेलाई दाताहरूमार्फत सहायता गरेकी थिइन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सँगको एकताअघि तामाङलाई बोलाएर सामानुपातिकमा प्रस्ताव गरेका थिए । तर, तामाङले आफू प्रत्यक्षबाटै उम्मेदवार बन्ने बताएकी थिइन् ।

सक्रिय राजनीतिमा आउनेबारे सामाजिक सञ्जालमा राखेको मत सर्वेक्षणमा ९२ प्रतिशत बढीले आफूलाई प्रत्यक्षबाटै निर्वाचन लड्न सुझाएको तामाङको भनाइ थियो ।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार