धनगढी – कैलालीको गोदावरी नगरपालिका- ४ मा एक युवकमाथि धारिलो हतियार प्रहार गर्ने समूहका १० जना पक्राउ परेका छन् ।डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ का ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियारले आक्रमण गर्ने गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको हो। ऐर गोदावरीस्थित शुभम् होटलमा नास्ता खाइरहेका बेला आक्रमणमा परेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले घटनापछि भारततर्फ भागिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-२ का सन्नी नेपालीसहित १० जनालाई गएराति सीमा नाका नजिकैबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न गिरोह कोब्रा सरकारका नामबाट परिचित रहेको र यसको नेतृत्व सन्नी नेपालीले गर्दै आएको जानकारी दिएको छ।
घटनाका बेला राति करिब ११ बजेतिर होटलमा बसेर नास्ता खाइरहेका ऐरमाथि बाहिरबाट आएको समूहले अचानक आक्रमण गरेको थियो। गम्भीर घाइते भएका उनलाई सुरुमा धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत रिफर गरिएको छ।